भुटानले साफ महिला च्याम्पियनसीपमा इतिहास रच्यो

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

भुटानले साफ महिला च्याम्पियनसीप फुटबलमा ऐतिहासिक इतिहास रचेको छ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (शुक्रबार) भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको हो।

श्रीलंकाविरुद्ध पहिलो हाफमा १ गोल गरेको भुटानले दोस्रो हाफमा ४ गोल थपेको थियो।

भुटानको जितमा डेखी लाजोमले २ गोल गरिन्। त्यस्तै, न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले १/१ गोल गरे।

श्रीलंकालाई हराउँदै भुटानले पहिलो पटक साफ च्याम्पियनसीपको अन्तिम ४ मा पुग्ने संभावना बलियो बनाएको छ।

सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसीपमा भुटानले अहिलेसम्म जित्न सकेको थिएन। तर, शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई ५–० ले पराजित गर्न सफल बन्यो। यो जितसँगै भुटानले महिला फुटबलमा इतिहास रच्न सफल भएको हो।

यसअघि, साफ च्याम्पियनसीपको पहिलो संस्करणमा भुटान श्रीलंकासँग १–१ को बराबरीमा रोकिएको थियो। यो नै भुटानको लागि सबैभन्दा ठूलो उपलब्धी थियो।

यो जितसँगै भुटानले सेमिफाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। अब २७ गते नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा सकिए पनि भुटान सेमिफाइनलमा पुग्नेछ।