पोखरा उद्योग वाणिज्य संघद्वारा उद्यमीहरुलाई सम्मान

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

पोखरा उद्योग वाणिज्य संघले उद्यमीहरुलाई सम्मान गरेको छ।

संघले महिला उद्यमी सम्मान–२०७९ बाट हिरा भट्टराईलाई सम्मान गरेको छ।

संघको शुक्रबारदेखि शुरु ३४ औं महाधिवेशन उद्घाटन समारोहबीच उद्योग र वाणिज्य क्षेत्रमा योगदान गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको हो।

भट्टराई पद्मावती हस्तकला उद्योग, पद्मावती मिडिया प्रालि र न्यु भट्टराई किराना स्टोर्सको संचालक तथा रेडियो जननीको अध्यक्ष हुन्। सोही अवसरमा संघले वाणिज्यतर्फ वसन्त नर्सरी र उद्योग तर्फ होटल वाराहीलाई उत्कृष्ट सम्मान गरेको छ।

गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

यसअघि अधिवेशनको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे। पोखरा उद्योग वाणिज्य संघको २ दिनसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। संघको आगामी नेतृत्वका लागि पवन प्रजापती र अर्जुन पोखरेलको प्यानल चुनावी मैदानमा छन्।