आमाले झैँ आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : राजा चाल्र्स

जनसम्मत
भाद्र २५, २०७९, शनिबार

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूपनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन्।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन्।

राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गरेका छन्। उनले आफ्नी आमालाई आफू र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उनको प्रेम, स्नेह, मार्गदर्शन, बुझाई र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए।

उनले भने, ‘महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उनले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दु:ख छ।’

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ, उनले भने।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उनले उल्लेख गरेका छन्।

राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दु:ख, समस्या आदि कुनै पनि बेला उनी विचलित नभएको राजा चाल्र्सले स्मरण गरेका छन्। उनले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चाल्र्सले उल्लेख गरेका छन्।

एजेन्सी