महिला साफ च्याम्पियनसीप: पाकिस्तानमाथि ६–० गोल वर्षाउँदै बंगलादेश सेमिफाइनलमा

जनसम्मत
भाद्र २५, २०७९, शनिबार

महिला साफ च्याम्पियनसीप फुटबलमा बंगलादेश सेमिफाइनलमा पुगेको छ।

काठमाण्डौको दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो।

बंगलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै, मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले १/१ गोल गरे। सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन्। बंगलादेशको लगातार यो दोस्रो जित हो।

पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई हराएको थियो। पाकिस्तानको लगातार यो दोस्रो हार हो। पहिलो खेलमा पाकिस्तान भारतसँग ३–० गोलले पराजित बनेको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलंका र भुटान छन्। नेपाल र भुटानले १/१ खेल जितेका छन्। समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्स तथा ‘बी’ मा रहेको श्रीलंका अंकविहीन छन्।