माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

जनसम्मत
भाद्र २५, २०७९, शनिबार

महिला साफ च्याम्पियनसीप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ।

दशरथ रंगशालामा आज (शनिबार) भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै, डाङमेई ग्रेसले २ तथा प्रियंकादेवी, काश्मिना र सौम्या गुगुलोथले १/१ गोल गरे।

भारतको यो लगातार दोस्रो जित हो। समूह ‘ए’ बाट भारत र बंलादेश समान २/२ जितका साथ सेमिफाइनलमा पुगेका छन्। भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० गोलले हराएको थियो। बंलादेशले आज भएको दोस्रो खेलमा पाकिस्तानलाई ६–० गोलले हरायो।

पहिलो खेलमा बंलादेशले माल्दिभ्सलाई ३–० गोलले हराएको थियो। प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलंका र भुटान छन्।