सेनाका तीर्थबहादुरले जिते लिगलिगकोट–गोरखा दरबार म्याराथन

जनसम्मत
भाद्र २५, २०७९, शनिबार

नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङले प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा प्रथम भएका छन् ।

आज (शनिबार) भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र पुरस्कार समेत जिते।

यस्तै, भारतीय सेना अनिश थापामगर द्वितीय बने। उनले निर्धारित दूरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले नगद १ लाखका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै, निर्धारित दूरी ३ घन्टा १५ मिनेटमा पार गर्दै नेपाली सेनाको बरखगणका मोहनदेव जोशी तृतीय भए। उनले नगद ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा नेपाली सेनाको चण्डीप्रसाद गणका देवराज महत्तरा चौथो, नेपाली सेनाकै भिमकाली गणका गोविन्द कार्की पाँचौँ, सोलुखुम्बु महाकुलुङ–१ का अर्जुन राई कुलुङ छैटौँ, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौँ, गोरखाको सिरानचोक गाउँपालिका–५ का अशोक बराम आठौँ, भुपुसैनिक रैबतबहादुर दाहाल नवौँ र महावीर सौर्यगणका विमल खड्का दशौंँ बने।

प्रतियोगितामा चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थान हासिल गर्ने खेलाडीले क्रमश: नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाका मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथि बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन्। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ९२ जना सहभागी थिए। प्रतियोगितामा लिगलिगकोटदेखि चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेबेटार, पस्लाङ चौतारो हुँदै गोरखा दरबारको हनुमान भञ्ज्याङसम्मको दूरी तय गरिएको थियो।

४ सय ६३ वर्ष पहिले लिगलिगकोटका राजा द्रव्य शाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको

पदमार्गलाई आधार बनाएर २०७६ सालदेखि म्याराथन सुरु गरिएको थियो।

कोभिडका कारण यसअघिका २ वर्ष यो प्रतियोगिता हुन सकेको थिएन।