पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति

जनसम्मत
भाद्र २६, २०७९, आइतबार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन्।

अन्तिम मत परिणामाअनुसार प्रजापति एकहजार ६१३ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन्।

उनको प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७१६ को भारी मतान्तरले पराजित गर्दै प्रजापति विजयी बनेका हुन्। पोखरेलले ८९७ मत प्राप्त गरे। प्रजापति यसअघि संघको वरिष्ठ र पोखरले वाणिज्य उपाध्यक्ष थिए। अघिल्लो चुनावमा एउटै प्यानलमा रहेका उनीहरू ३४ औँ महाधिवेशनमा नेतृत्वका लागि प्यानलसहित आमने–सामने थिए।

प्रजापतिको प्यानलबाट उपाध्यक्षबाहेका सबै पदाधिकारी र साधारण सदस्यतर्फ १० जनामध्ये ७ जना विजयी बने। नयाँ समितिको कार्यकाल २ वर्षको हुनेछ।

वरिष्ठ उपाध्यक्षमा पनि पवन समूहकै गोकर्ण कार्की विजयी बने। यसअघि, २ कार्यकाल उद्योग उपाध्यक्ष रहेका गोकर्णले १७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७३८ मत प्राप्त गरे।

उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १७९१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी हिरामणि पण्डितले ७२० मत ल्याए। वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६४८ मत प्राप्त गरिन्। विजयी बनेका उत्तम पवनको समूहबाट मैदानमा उत्रेका थिए भने सोवित स्वतन्त्र र कुमारी मुना अर्जुनको प्यानलमा थिइन्।

त्रिपक्षीय प्रतिस्पर्धा रहेको महासचिवमा पवन समूहका बलराम आचार्यले बाजी मारे। उनले ९१० मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८२९ मत ल्याए। अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार तारानाथ ढुंगानाले ७५९ मत प्राप्त गरे।

कोषाध्यक्षमा १५९९ मतसहित दिनेशचन्द्र बास्तोला विजयी हुँदा प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरे। उपमहासचिवमा शोभा गौतम १७५५ मतसहित विजयी बनिन्। उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७५८ मत ल्याए।

कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी बने। यीमध्ये बालकृष्ण, सुदीप र भरत केसी यसअघि पनि कार्यसमितिमा थिए। दीलिपकुमार, भरत र माधव अर्जुन पोखरेल प्यानलबाट मैदानमा उत्रिएका थिए। कुल १९ जनाले साधारण सदस्यमा उम्मेदवारी दिएका थिए।
उता, वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी (२७), लेखनाथ सुवेदी (२३) र लीलाधर चपागाईं (२२) विजयी बने। उनीहरू क्रमश: फ्लोरिङ एण्ड फर्निचर, कस्मेटिक व्यवसायी संघ, थोक व्यवसायी संघ र खुद्रा तथा किराना व्यवसायी संघको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए।

४ सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको थियो। भाँडा व्यवसायीबाट कुश कार्की र कपडा व्यवसायीबाट विष्णुप्रसाद तिमिल्सिना उम्मेदवार बनेका थिए । संघका सदस्य रहेका ३० वटा बस्तुगत संघले यी उम्मेदवारलाई मतदान गरेका हुन्। एसोसिएटमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध हुँदा औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत पनि निर्विरोध भए।

संघको शनिबार सम्पन्न निर्वाचनका लागि ३१ सय ४३ जना मतदाता थिए। तीमध्ये २५ सय ४९ जनाले मत हालेका थिए।