एपीएफ र एसियन सुजले क्लबस्तरीय भलिबलको उपाधि जित्यो

जनसम्मत
भाद्र २७, २०७९, सोमबार

पोखरा महानगरपालिका–३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनले जितेको छ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा–भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।

त्यसैगरि, महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो।

पुरुषतर्फ उपाधि जितेको एपीएफले नगद १ लाखसहित शिल्ड पुरस्कार जित्यो।

यसैगरि, उपविजेता बनेको मामा–भान्जा क्लबले ६० हजार नगदसहित शिल्ड हात पार्न सफल बन्यो।

महिलातर्फको विजेता एसियन सुजले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता अर्चलबोट भलिबल क्लबले २५ हजार शिल्ड मेडल प्रमाणपत्र हात पार्न सफलन बन्यो।

गत २२ गतेदेखि पोखरा–३ नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता थियो।

पुरुषतर्फ विजय र महिलातर्फ सरु सर्वाेत्कृष्ट

प्रतियोगितामा पुरुषतर्फ एपीएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडीका रुपमा घोषित भए। यसैगरि, उत्कृष्ट स्पाइकरका रुपमा मामा–भान्जा क्लबका सञ्जुविक्रम शाह, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै ईश्वर गुरुङ र उत्कृष्ट सर्भरका रुपमा सोही टोलीकै राजेश कुँवर घोषित भए। उत्कृष्ट सेटरका रुपमा एपीएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीका रुपमा एपीएफकै उमेश सेन्चुरी पुरस्कृत भए।

त्यसैगरि, महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली घोषित भइन्। उत्कृष्ट सेटरकी रुपमा सोही टिमकै निरु पुन, उत्कृष्ट डिफेण्डरकी रुपमा सोही क्लबकै लक्ष्मी राना र उदीयमान खेलाडीका रुपमा सस्मीता पुन घोषित भइन्।

यसैगरी अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भइन्।

विधागततर्फ उपाधि जितेका पुरुष तथा महिला खेलाडीहरुलाई आकर्षक ट्रफीद्वारा पुरस्कृत गरिएको थियो।

विजेता तथा उपविजेता टोलीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक तथा राष्ट्रिय रेफ्री राम पुन, लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक तथा युवा व्यवसायी अमृत लामा गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पदम श्रेष्ठ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए।

सो प्रतियोगिताबाट संकलित रकममध्ये केही रकम ब्लड क्यान्सरबाट ग्रसित बिरामीलाई सहयोग गर्ने बताइएको छ।

यसअघि, सम्पन्न गरेको पाँचौ संस्करणको प्रतियोगिताबाट संकलित रकममध्ये २ लाख रुपैयाँ मृगौला पीडित सुरज गुरुङलाई केन्द्रले सहयोग गरेको थियो।