खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरको सहयोग

जनसम्मत
भाद्र २६, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा असोज पहिलो साता पोखरामा हुने प्रदेशस्तरिय खेलकुद पत्रकारिता तालिमलाई सफल पार्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसँग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त तालिम सम्पन्न गर्न सहयोग गर्ने बताएको मञ्चले जनाएको छ।

प्रदेशको राजधानी पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न महानगरले हरेक हिसावले सहयोग गर्ने बताउँदै मेयर आचार्यले मञ्चले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गरे।

पोखरा महानगरले पोखरा स्पोर्ट्स अवार्डदेखि विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएकोमा महानगरलाई धन्यवाद दिदै मञ्चका अध्यक्ष दीननाथ बरालले खेल पत्रकारहरुको लागि क्षमता अभिबृद्धि गर्न उक्त तालिम आयोजना गर्न लागेको बताए। टोलीमा मञ्चका अध्यक्ष बरालको साथमा सल्लाहकार एकराज गिरी, रञ्जन अधिकारी, सदस्य राजु गिरी, गणेश बराल, कृष्ण दवाडीलगायतको सहभागिता थियो। टोलीले पोखरा महानगरको उपप्रमुख मञ्जुदेवी गुरुङ समेतलाई भेटेको थियो।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषदलगायतका विभिन्न संघसंस्थाको सहयोगमा मञ्चले उक्त तालिम असोजको ४ र ५ गते पोखरामा गर्ने तयारी गरेको छ।

असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता करिब ३९ बर्ष पछि हुन लागेको हो।

यसैबीच मञ्च गण्डकीले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको पोखरा रंगशालास्थित मिडिया सेन्टरमा सीसीटीभी जडान गरिएको छ।

मिडिया सेन्टरमा रहेका सामाग्रीको सुरक्षाको लागि सीसीटीभी जडान गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए। पौडेलले मञ्चले आयोजना गर्न लागेको खेलकुद पत्रकारिता तालिमको तयारीमा तिव्रता दिइएको समेत बताए।