नेपाल महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

जनसम्मत
भाद्र २७, २०७९, सोमबार

घरेलु नेपालको टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ।

नेपाल समुह ‘बी’ बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो।

नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो।

नेपालका लागि अमिषा कार्कीले २, रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, दिपा शाहीले १/१ गोल गरे।

नेपालका लागि खेलको १० औं मिनेटमा रश्मीले पहिलो गोल गरेकी थिइन् भने खेलको ११ औं मिनेटमा सरुले दोस्रो गोल गरेकी थिइन्।

त्यस्तै, नेपालका लागि तेस्रो गोल खेलको १७ औं मिनेटमा अमृताले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपाले नेपालका लागि चौथो गोल गरेकी थिइन्। नेपालका लागि पाँचौं र छैटौं गोल अमिषाले गरेकी थिइन्।

आजको खेलमा नेपालकी सावित्रा भण्डारी डेंगु संक्रमणका कारण खेलमा अनुपस्थित रहिन्।

नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ४–० गोल अन्तरले जित निकालेको थियो । त्यस्तै, भुटानले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो।

समुह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै, समुह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम खेल अघि नै सेमिफाइनलमा पुगिसकेका छन्। समुह ‘ए’ को अन्तिम खेल मंगलबार हुनेछ र यसै खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यस खेलपछि नै नेपालसँग सेमिफाइनलमा कुन टिमसँग खेल्ने भन्ने टुंगो लाग्नेछ।