जनसम्मतकर्मी शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ

जनसम्मत
भाद्र २७, २०७९, सोमबार

जनसम्मतकर्मी नारायण शाहीलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

सहारा क्लब पोखराले बर्सेनी प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले जनसम्मत डट कमका सम्पादक शाहीको नाम

सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो। पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ।

काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका पत्रकार शाही करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन्।

जनसम्मत डटकम अनलाइनको जिम्मेवारी सम्हाल्दै आएका छन् भने एभरेष्ट मिडिया हाउसका वरिष्ठ सम्वाददाता समेत हुन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका–५ नावरुङ हो।

अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो। सदस्यमा रामप्रसाद तिमिल्सिना, खेमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ, तोरणबहादुर बानियाँ, दीननाथ बराल, केशवबहादुर थापा, पदेन सदस्यमा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिव रामजीप्रसाद अधिकारी थिए।

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन्। सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् ।

पुरस्कारको लागि कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तीमा १० वर्षदेखि निरन्तर पत्रकारिता गर्नुपर्ने, खेलकुद बिटलाई प्राथमिकता दिनुपर्ने र छापा तथा विद्युतीय पत्रकारितामा संलग्न हुनुपर्ने लगायत मापदण्ड कायम गरिएको छ।

यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्।

क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिनेछ।