नवौं राष्ट्रिय खेलकुद: क्रिकेटमा पुलिसको दोस्रो जित

जनसम्मत
भाद्र २७, २०७९, सोमबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभागीय टोलीको नेपाल पुलिस क्लबले पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो।

पुलिसले दिएको २०५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रनमा समेटियो।

लुम्बिनीका लागि बसिर अहमदले अविजित ४६, सौरभ खनालले २४, दीपेन्द्र रावतले अविजित १३ र प्रज्वल थापाले १० रन बनाए। बलिङमा पुलिसका ललित राजवंशीले ३, करण केसीले २ तथा गुल्सन झाले १ विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ७५ रन बनाए। आरिफ शेखले ५०, सुनिल धमलाले ३५ र दिलीप नाथले ३३ रन बनाए।

बलिङमा लुम्बिनीका बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत र विशाल विक्रम केसीले १/१ विकेट लिए। जितसँगै समूह ‘ए’ मा रहेको पुलिस शीर्षस्थानमा छ। पुलिसले ३ खेलबाट ७ अंक बनाएको छ। लुम्बिनीको समान खेलबाट २ अंक छ।

यसैगरी, मुलपानी क्रिकेट मैदानमा तय भएको नेपाल एपीएफ क्लब र बागमती प्रदेशबीचको खेल वर्षाको कारण मैदान चिसो भएकोले रद्द गरिएको थियो। खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्। यस प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टोलीको सहभागिता छ।