यु–१७ फुटबल: नेपाल फाइनल पुग्यो, भोलि भारतसँग फाइनल खेल खेल्दै

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीले फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ।

गएराती सम्पन्न खेलमा घरेलु टोली श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

खेल सुरु भएदेखि नै नेपालले श्रीलंकालाई दबाबमा राख्दै पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो।

कप्तान प्रशान्त लक्ष्यमले पहिलो हाफको २१ औं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसको लगत्तै २३ औं मिनेटमा हरिष भट्टले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। खेलको ३० औं मिनेटमा सुभाषले गरेको गोल र ३७ औं मिनेटमा निरज कार्कीले गरेको गोलबाट पहिलो हाफमा नेपालले ४–० को अग्रता लिएको थियो।

दोस्रो हाफमा थप २ गोल गर्दै नेपालले श्रीलंकामाथि सानदार जीत निकाल्दै फाइनल यात्रा तय गरेको हो। यसअघि, नेपालले भुटान र भारतलाई पराजित गर्दै अन्तिम ४ मा आफ्नो स्थान पक्का बनाएको थियो।

अब, नेपालले फाइनलमा फेरी भारतसँग सामना गर्नेछ। भारतले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलसम्म आइपुगेको हो। फाइनल खेल भोली बुधबार श्रीलंकामा हुनेछ।