एएफसी यु–२० एसियन कप छनोट: नेपालको दोस्रो हार

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

सोमबार राति भएको खेलमा कतारसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै २ गोल खाएको थियो। खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा नेपालले १ गोल फर्काउदा थप १ गोल व्यहोरेको थियो। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए।

त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३–१ ले विजयी बन्यो। यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ।

लगातार २ खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह ’बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो।

यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै, अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यु–२० एसियन कपमा स्थान बनाउनेछन्।