नवौं राष्ट्रिय खेलकुद: कर्णाली प्रदेशको पहिलो जित

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो।

कर्णालीले दिएको १ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो।
मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाए। रोहन विकले १० तथा राकेश कामतले अविजित १९ रन बनाए। अन्य ८ ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। कर्णालीका लागि दिनेश अधिकारीले ३ तथा दिवान पुन र रविन्द्रजंग शाहीले २/२ विकेट लिए।

त्यसअघि, पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै १ सय १४ रन जोडेको थियो। उसका लागि विपिन रावलले २४ तथा प्रकाश जैशीले १९ रन बनाए। दिनेश अधिकारीले १५ तथा कप्तान रविन्द्रजंग शाहीले १० रन बनाए। मधेशका आदिल आलमले ५ तथा हरिशंकर शाहले २ विकेट लिए।

यस जितसँगै कर्णालीले ४ खेलमा ५ अंक जोडेको छ। समूह ’ए’ मा रहेको कर्णाली दोस्रो स्थानमा उक्लिएको छ।

मधेशले ५ खेलमा ३ अंक जोडेको छ। मधेश चौंथो स्थानमा छ। मधेस प्रतियोगिताबाट बाहिरिएको छ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइरहेको हो।

प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता छ।