देशभर २३ भन्सार कार्यलयहरु, जनकपुर र राजविराजलगायतका ११ भन्सार कार्यलयबाट निर्यात शून्य

विरगञ्ज भन्सार कार्यलयबाट ३ खर्ब ६७ अर्ब बराबरको आयात

जनसम्मत सहकर्मी
वैशाख २९, २०७६, आइतबार

काठमाण्डौं । देशभर संचालनमा रहेका २३ भन्सार कार्यलयहरुमध्ये आधा भन्सार कार्यलयबाट चालु आर्थिक वर्षको ९ महिनामा कुनैपनि निर्यात हुन सकेको छैन ।

२३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि मालसामान निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ११ वटा भन्सार कार्यालयबाट कुनैपनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो । विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कुनै पनि सरसामग्री निर्यात भएको छैन ।

राजश्व संकलनका लागि भन्दै सरकारले जनशक्ति एवं साधान र स्रोत उपलब्ध गराएको भएपनि निर्यात हुन नसकेको पाइएको हो । विभागका अनुसार वीरगञ्ज भन्सार कार्यालयबाट आयात र निर्यातको मात्रा बढी छ । वीरगञ्ज भन्सार कार्यालयबाट रु ३ खर्ब ६७ अर्ब बराबरको आयात भएको छ । दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ ।