नवौँ राष्ट्रिय खेलकुद: सुसनको ह्याट्रिकमा आर्मीको जित

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

स्पिनर सुसन भारीले ह्याट्रिक गरेको खेलमा त्रिभुवन आर्मी क्लबले मंगलबार नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९ विकेटले हराएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो। टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १९ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनाएको थियो। ८६ रनको लक्ष्य आर्मीले १०.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो।

ह्याट्रिक गरेका सुसनले ५ विकेट लिए। उनलाई हरि चौहानले २ तथा सोमपाल कामी र आकाश चन्दले १/१ विकेट लिएर साथ दिएका थिए।
सुसनले १४.१ ओभरमा वसिर अहमदलाई हरिमार्फत क्याच गरे। अर्को बलमा तुलबहादुर थापालाई एलबीडब्लू आउट गरेको सुसनले धन शाहीलाई पनि एलबीडब्लू आउट गरे।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित २८ रन बनाए। सन्दीप रजालीले १५ रन बनाउँदा देव खनाल र वसिरले समान १३ रन बनाए।
८६ रनको लक्ष्य पूरा गर्नेक्रममा अर्जुन साउदले अविजित २८, हरिले ३५ र भीम सार्कीले अविजित १८ रन बनाए।

जितसँगै आर्मीले ४ खेलबाट ६ अंक जोडेको छ। समान ६ अंक जोडेको नेपाल पुलिस शीर्ष स्थानमा छ। कर्णाली र गण्डकी प्रदेशको समान ४ अंक छ। ५ खेलबाट समान ३ अंक जोडेको मधेस र लुम्बिनी पाँचौँ र छैटौँ स्थानमा छन्।

आर्मीले अब समूहको अन्तिम खेलमा नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। यससँगै समूह ‘ए’मा विजेताको पनि टुंगो लाग्नेछ। समूह ‘बी’बाट एनआरएनए र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

आज पनि २ खेल संभव भएन। आज गण्डकी र नेपाल पुलिस तथा सशस्त्र प्रहरी बल(एपीएफ) र सुदूरपश्चिमबीचको खेल नखेली स्थगित भएको हो। दुवै खेल मुलपानी क्रिकेट रंगशालामा खेल्ने तालिका थियो। प्रतियोगितामा १ बल पनि नखेली स्थगित भएको यो १६ औँ खेल हो। एक खेल नतिजाविहीन बनेको छ। बागमती प्रदेश १ खेल पनि नखेली प्रतियोगिताबाट बाहिरिएको छ।