महिला साफ च्याम्पियनसीपः पाकिस्तानले माल्दिभ्सलाई ७ गोल वर्षायो

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप फुटबलमा पाकिस्तानले पहिलो जित निकालेको छ।

मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको हो।

पाकिस्तानको यो पहिलो जित हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले १/१ गोल गरे। खेलको ३९ औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएकी थिइन्। खेलको ४८ औं मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानको अग्रता दोब्बर पारिन्।

खेलको ५३ औं मिनेटमा नाडियाले गोल गर्दा पाकिस्तानले ३–० गोलको अग्रता बनाएको थियो। खेलको ७८ औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन्। खेलको ८४ औं मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० गोलको अग्रता दिलाइन्।

खेलको ९० औं मिनेटमा नाडियाले व्यक्तिगत चौंथो गोल गर्दै पाकिस्तानलाई ६–० को अग्रता दिलाइन्। खेलको इन्जुरी समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० ले विजयी बन्यो। जितसँगै पाकिस्तानले महिला साफको सुखद अन्त्य गरेको छ। समूह ‘ए’ को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो। माल्दिभ्स र पाकिस्तान प्रतियोगिताबाट बाहिरी सकेका छन्।