गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन कल्चरबीच भगिनी सम्बन्ध

जनसम्मत
भाद्र २७, २०७९, सोमबार

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन सेन्टर अफ साइन्स एण्ड कल्चरबीच भगिनी सम्बन्ध कायम भएको छ।

पोखरामा सोमबार दुवै पक्षबीच सम्झौता भएको हो।

सम्झौता पत्रमा रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरकोतर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

उक्त अवसरमा सदस्य सचिव श्रेष्ठले आफूहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए। सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ।

‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदान–प्रदान हुनेछ’ श्रेष्ठले भने।

रशियन दूतावासका प्रथम सचिवसमेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए।

‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’, उनले प्रतिबद्धता जनाए।

सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रशियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ। सो निमन्त्रणालाई स्वीकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

सांस्कृतिक टोलीको सहभािगतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिबारे अन्तक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ।

यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रशियन कल्चर शो’ समेत हुनेछ। यो ‘कल्चरल शो’ मार्फत गण्डकी प्रदेशवासीले रशियन कल्चरबारे जानकारी पाउनेछन्।