नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलभेन्यूको तय

सुटिङ काठमाडौंमै हुने

जनसम्मत
भाद्र २९, २०७९, बुधबार

आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिङ, राखेप पदाधिकारी तथा खेल संयोजकहरुले पोखरामा खेलभेन्यूको सार्वजनिक गरेका हुन्।

राखेपकाअनुसार सुटिङ काठमाडौंमा हुनेछ। यस्तै, पौडी भने अन्त्यमा पोखरामै राखिएको छ। खेलकुदका ३६ खेलमा २ खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन्। यसअघि, राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भनेपनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी ५ जिल्लामा हुनेछ भएको छ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट भने हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी छ। प्रतियोगिता २८ असोजबाट ३ कात्तिकसम्म हुँदैछ।

यसैगरी, परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्षित गरी नेशनल स्पोर्टस् काउन्सिल एप संचालनमा ल्याएको छ। काउन्सिलको अनलाइन एप पनि हिँजो (बुधबार) पोखरामै सार्वजनिक गरेको हो। खेलकुद मन्त्री गहतराजले एपको उद्घाटन गरेका हुन्।

सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। उनका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको बताए।

परिषद्ले पहिलो पटक खेलाडीको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ। प्रत्येक टोलीले खेलाडीको अनलाइन फाराम भर्नुपर्ने उनले जानकारी दिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भएपनि परिषद्ले सोअघि नै खेल तालिका बनाएको छ।

नवौँअन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडौँमा जारी छ। क्रिकेट महिला असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ।

प्रतियोगिताको मूल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र ७ वटै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा ट्रफी प्रदर्शनी र्‍यालीको आयोजना गरिने सदस्य सचिव घिसिङले बताएका छन्।

ट्रफी र्‍यालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यसीय कार्यदल गठन भइसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमश:अन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्ले जनाएको छ।