बागलुङमा तीव्र गतिमा फैलिदैँ डेंगु

जनसम्मत
भाद्र ३१, २०७९, शुक्रबार

बागलुङमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिएको छ।

पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बागलुङकी निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भदौ महिनामा मात्रै २६ जनामा डेंगुको संक्रमण पुष्टि भएको जानकारी दिइन्। यो संख्या जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ।

बागलुङमा असारदेखि डेंगु संक्रमण देखिन थालेको हो। असार र साउनमा ३/३ जनामा संक्रमण पुष्टि भएको थियो भने भदौ महिनामा २६ जनामा संक्रमण देखिएको छ।

डेंगुको निर्धारित उपचार पद्धति नभएका कारण पनि यसबाट बच्नुपर्ने शर्माको भनाई छ। ‘डेंगुको उपचार छैन, लामखुट्टेको टोकाइबाट सर्ने रोग भएका कारण यसबाट जोगिनुकै मुख्य उपाय हो,’ उनले भने। डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ।

संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा यो भाइरस सर्ने र जटिल खालको स्वास्थ्य समस्या देखिने जनस्वास्थ्य निरीक्षकको भनाई छ।