महिला साफ च्याम्पियनसीप: भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनल पुग्यो

उपाधिका लागि नेपालले सोमबार बंगलादेशसँग फाइनल खेल्ने

जनसम्मत
भाद्र ३१, २०७९, शुक्रबार

साफ महिला च्याम्पियनसीप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ।

प्रतियोगिता अन्तर्गत भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा समेत पुगेको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १–० गोलले हरायो। नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा विजयी गोल गरिन्। घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गर्न सफल बनिन्।

भारतमाथि नेपालको यो ऐतिहासिक जित हो। नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेको हो। यसअघि, २०१९ को हिरो महिला गोल्डकपमा नेपालले भारतलाई २–१ ले हराएको थियो ।

योसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन। भारत यसअघिका सबै संस्करणको विजेता हो। भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ।

नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार बेहोरेको छैन। समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।
अब नेपालले फाइनलमा बंगलादेशसँग खेल्नेछ। आजै, भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो। फाइनल खेल सोमवार बेलुकी ५ बजे सुरु हुनेछ।