पोखराको चौरपाखा अब ‘उज्यालो गाउँ’ बन्दै

जनसम्मत
असाेज १, २०७९, शनिबार

पोखरा १८ स्थित चौर पाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको त्यहाँका जनप्रतिनिधिले बताएका छन्।

आज ( शनिवार) गाउँमा भएको भेलाबीच वडासदस्य नमराज सुवेदीले हिँजो चौरपाखाको विकासलाई उपेक्षा गरिएकोमा दु:ख व्यक्त गर्दै अव त्यस्तो नहुने प्रतिबद्धता जनाए । विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै वडासदस्य सुवेदीले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक बत्ती सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

वडासदस्य रमेशबहादुर थापाले पोखराको मुख्य क्षेत्रबाट चौरपाखा नजिक रहेपनि विकट रहेको औँल्याउँदै गाउँसम्म पुग्ने सडक स्तरउन्नतीका लागि वडा संवेदनशील रहेको सुनाए।

जनप्रतिनिधीसमक्ष गाउँलेहरुले सडकको स्तरउन्नतीका साथै चौरपाखादेखि मेथलाङसम्म सिढी बाटो निर्माण, काठे पोल विस्थापनसाथै गाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम लागु गरिदिन माग पनि गरे।

यसैबीच, उक्त भेलाले श्रीभद्र पौडेलको अध्यक्षतामा सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समिति पनि गठन गरेको छ। जसको उपाध्यक्षमा संजीव अधिकारी, सचिवमा मैयाँ भुर्तेल अधिकारी, कोषाध्यक्षमा लिलारमण भुर्तेल तथा सदस्यहरुमा नवराज अधिकारी (नविन), पार्वती अधिकारी, ईन्द्रप्रसाद अधिकारी, राजुप्रसाद अधिकारी र इन्द्रबहादुर केसी छन्।

भेलाले इञ्जिनियर सुनिल अधिकारीको संयोजकत्वमा हरिश्चन्द्र अधिकारी र वडासदस्य नमराज सुवेदी सदस्य रहने गरी अनुगमन समिति समेत गठन गरेको छ।

त्यस्तै, टंकप्रसाद अधिकारी, रामप्रसाद ज्ञवाली, भगवान् अधिकारी र शिवप्रसाद अधिकारीलाई सल्लाहाकारको जिम्मेवारी पनि दिइएको छ।