साफ महिला च्याम्पियनसीप: बंगलादेशलाई उपाधि, नेपाल फेरि उपविजेतामै सीमित

जनसम्मत
असाेज ३, २०७९, सोमबार

छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप २०२२ को उपाधि बंगलादेशले जितेको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि जित्यो। बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन्। नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन्।

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो। नेपाल भने पाँचौँ पटक फाइनल पुगेर पनि पाँचै पटक पराजित बनेको छ र उपविजेतामै चित्त बुझाएको छ। यसअघि, ५ मध्ये ४ पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो। यसअघिका सबै संस्करण भारतले जितेको थियो।

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल बन्यो। नेपाललाई हराएको बंगलादेश पहिलो पटक च्याम्पियन बन्यो।