नवौँ राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारलाई तालिम

जनसम्मत
असाेज ४, २०७९, मंगलवार

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र संप्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (मंगलबार) देखि सुरु भएको २ दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट ७० जना खेल पत्रकारको सहभागिता छ।

राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, नियमलगायतका विषयमा जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार संप्रेषणमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताएका छन्।

उनका अनुसार तालिममा ३६ वटै खेलका प्रशिक्षक एवं खेल पदाधिकारीले समाचार संपे्रषणका लागि संचारकर्मीलाई प्रशिक्षित गर्नेछन्।

पहिलो दिनको तालिममा १३ जना प्रशिक्षकले प्रशिक्षण दिएका छन्। स्क्वासका रामकृष्ण ज्ञवाली, उशुका गोपाल श्रेष्ठ, क्रिकेटका रिजन प्रजु, भारत्तोलनका राजन बड्गामी, फेन्सिङका सन्दीप बराल, सेपाताक्रोका मोहन गुरुङ, आर्चरीका योगेन्द्र शेरचन र खो खोका विशालजंग कुँवरले सम्बन्धित खेलका बारेमा प्रशिक्षण दिए।

यसैगरी, ब्याडमिन्टनका पुनम गुरुङ, बक्सिङका प्रियंका बर्मा, टेनिसका निरज थापा, प्याराग्लाइडिङका योगेश भट्टराई र खेल फोटोका बारेमा फोटो पत्रकार राम गुरुङले प्रशिक्षण दिएका थिए। बाँकी खेलका बारेमा दोस्रो दिन भोली (बुधबार) सम्बन्धित खेलका प्रशिक्षक तथा विज्ञबाट तालिम प्रदान गरिने मञ्चले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने र नवौँ राष्ट्रिय खेलकुद भव्य बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका गुरुङले प्राविधिक कारणले प्रतियोगिताका लागि यसअघि तय भएका केही ठाउँको खेलस्थल परिवर्तन हुनसक्ने संकेत गरे।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ लग्न संचारकर्मीबाट निरन्तर साथ प्राप्त हुने विश्वास व्यक्त गरे।

तालिमको उद्घाटन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायतले तालिमले राष्ट्रिय खेलकुदमा प्रतियोगितामा समावेश गरिएका ३६ खेलको समाचार लेखनमा सहजीकरण गर्ने बताए।