यसपालीको दशैँमा पनि धरहरा चढ्न नपाइने भो

दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो

जनसम्मत
असाेज ८, २०७९, शनिबार

सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन्।

दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिएका छन्।

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन्। त्यहाँ गहिरा खाल्डा खनिएका छन्। निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको उनको भनाई छ। उनले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट पारे।

धरहरा छेउमा युटिलिटी ब्लक निर्माण भइरहेको छ। ब्लक निर्माणका लागि खन्दा दूरसञ्चार प्राधिकरणका १८ हजार तार भेटिएका छन्। त्यहाँ काम गर्दा एकै पटक १८ हजार टेलिफोन लाइनमा समस्या आउने भएकाले सो ठाउँमा काम अगाडि बढाइएको छैन।

त्यस्तै, सुन्धारामा पहिलेजस्तै पानीको व्यवस्थापन हुनुपर्ने काम पनि बाँकी छ। धरहरा क्षेत्रमा आउने पानी र पानी निकासको काम गरेर मात्रै सुन्धारा क्षेत्रतर्फको काम गर्न काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ।

धरहराको उद्घाटन गत २०७८ साल वैशाखमा गरिएको थियो। ३ अर्ब ४९ करोड रुपैयाँको लागतमा धरहराको पुन:निर्माण हुँदैछ। ईकाइ प्रमुख अधिकारीले धरहरा निर्माणका लागि चौथो पटक म्याद थपिएपनि सो अवधिमा समेत निर्माण सम्पन्न हुन सक्ने अवस्था नरहेको बताए।

पछिल्लो पटक आगामी पुस मसान्तसम्म म्याद थप गरिएको छ। यसअघि, कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थपिएको थियो।

२०७७ असोज २० गतेसम्ममा धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी रमन कन्स्ट्रक्सनबीच २०७५ सालमा सम्झौता भएको थियो। निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण कार्य सुरु गरेको थियो भने सोही वर्षको पुसमा शिलान्यास गरिएको थियो।

गोरखापत्र अनलाइनमा समाचार छ।