राष्ट्रिय खेलकुदको ट्रफी आर्मी र प्रहरीको मुख्यालयमा प्रदर्शनी

जनसम्मत
असाेज ७, २०७९, शुक्रबार

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी २ विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शन गरिएको छ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो।

सो अवसरमा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्यत्रय नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिरा राई समेतको उपस्थिति थियो।

अब, ट्रफीलाई भोली (असोज ८ गते, शनिबार) प्रदेश १ को विराटनगरस्थित शहिद रंगशालामा लगिनेछ। त्यसपछि, ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर लगिनेछ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा ल्याइनेछ। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ।

यसअघि, ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौंडा लगिएको थियो।