पोखरा रंगशालामा सुविधासम्पन्न तेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

जनसम्मत
असाेज ८, २०७९, शनिबार

पोखरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ।

एक दशक अघिदेखिको निरन्तरको प्रयासपछि पोखरा रंगशलााभित्र बन्ने भवनको आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे।

भवन शिलान्याससँगै एक दशकअघिको निर्माणको सपना पूरा हुने भएको हो।

प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखी प्रयास गर्दै आएको र अहिले सो मिहिनेतले सार्थकता प्राप्त गर्न लागेको कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दोका अध्यक्ष जगनबहादुर गुरुङले बताए।

उनका अनुसार विसं २०६७ देखि भवन निर्माणका लागि संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले मासिक ५ सय रुपैयाँ सहयोग संकलन अभियान सुरु गरेका हुन्। सहयोग अभियानबाट हालसम्म ५५ लाख रुपैयाँ संकलन गरेको गुरुङले बताए।

भवन निर्माण कार्य पूरा हुन २ करोड खर्च लाग्ने लागत अनुमान छ। तेक्वान्दो संघले थप ५० लाख रुपैयाँ जति सहयोग जुटाउने योजनामा छ। भवनका लागि अपुग हुने रकमका लागि राखेपसँग सहयोग मागिएको गुरुङले बताए।

शिलान्यास कार्यक्रममा सदस्य सचिव टंकलाल घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलव्ध गराइने विश्वास दिलाए। चालु आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गर्न नसकिएपनि आगामी वर्ष यसका लागि बजेट विनियोजन गरिने उनले प्रतिवद्धता जनाए।

नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाश शमसेर राणाले तेक्वान्दो हलभित्र खेल्ने खेल भएकाले भवन भनिर्वाय रहेको बताए। भवन निर्माणपछि खेलाडीको राम्रो विकास हुने घिसिङको विश्वास छ।

रंगशालाको २ रोपनी क्षेत्रफल जमिनमा निर्माण हुने अत्याधुनिक हलसहितको भवनमा राष्ट्रिय प्रतियोगिता संचालन गर्न सकिने गरी तयार गरिने कास्की जिल्ला तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष कुलचन्द्र शर्माले बताए। उनका अनुसार सुविधासम्पन्न र अत्याधुनिक हलमा विदेशी खेलाडीहरु बिदामा आउँदा समेत खेल्न मिल्ने गरी निर्माण गरिनेछ।

पोखरा रंगशालाभित्र फुटबल, क्रिकेट, टेनिस, ह्याण्डबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल, भलिबल, आर्चरीलगायतका खेलका खेलस्थलका पूर्वाधारहरु छन्। विशेषगरी, दोस्रो जनआन्दोलनपछि पोखरा रंगशालामा खेल पूर्वाधार निर्माणले गति लिएको थियो।