नागेश्वर र राममायाले जिते ’प्लस टू रन’को उपाधि

जनसम्मत
असाेज ८, २०७९, शनिबार

प्लस टू फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र गंगा मावि जुम्लाकी राममाया बुढाले जितेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन्।

पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरेर उपाधी जितेका हुन्। पुलिसकै सन्तोषनाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो भए। श्री रत्नचौडनेश्वर माबिका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेन्डको समय निकाल्दै तेस्रो भए।

पुरुषतर्फ सञ्जय नेपाली चौंथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बु छैटौं भए। मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौँ स्थानमा आएका छन्।

महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेन्डमा दूरी पूरा गरिन्। एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अन्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डको समय निकाल्दै दोस्रो भइन्। ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।

यस्तै, सरस्वती बोहरा चौथो, सोनु घतानी पाँचौ, अनुजा कार्की छैटौं, सरिता रम्तेल सातौं, रेस्टिना सिटीखु आठौं, शेर्बी महर्जन नवौं र उर्जा मधिकर्मीले दशौं स्थान ओगटिन्।

दुवै विधाको विजेताले ५० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरसकार जिते। उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै, चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २/२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको आयोजनामा प्रतियोगिता भएको हो।

उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा २ सय ५० सहभागी थिए।