माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसीप: नेपाललाई थप २ स्वर्ण

जनसम्मत
असाेज ८, २०७९, शनिबार

‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जी–२ र्‍याकिङ जुनियर तेक्वान्दो क्योरोगीतर्फ नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ।

पोखरामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो।

६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने सुप्रिया गुरुङले स्वर्ण पदक दिलाएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिएका छन्।

जुनियरतर्फको क्योरोगी इभेण्टमा भारतले भने ८ स्वर्ण पदक ल्याउन सफल भएको छ। त्यसैगरी, दक्षिण कोरीयाले भने ३ स्वर्ण र पाकिस्तानले १ स्वर्ण ल्याउन सफल भएको संघले जनाएको छ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेजबहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याटमिन्टनको हलमा खेलहरु जारी छन्।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अमेरीका, बंगलादेशलगायतका १३ देशका १ हजार ४ सय भन्दा बढी खेलाडीहरु सहभागी भएको संघ गण्डकीका सचिव रमेश पौडेलले बताएका छन्।