दसैंको नवरात्र सुरु, आज घटस्थापना, घर–घरमा जमरा राखियो

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको छ

जनसम्मत
असाेज १०, २०७९, सोमबार

आज आस्विन शुक्लप्रतिपदाको दिन अर्थात घटस्थापना।

आजदेखि नेपालीहरुको महान चाड बडा दसैं सुरु भएको छ।

यो वर्षको महान पर्व बडा दसैंले नेपालीहरुको घर–घरमा प्रवेश गरेको छ। घटस्थापनालाई नवरात्रको पहिलो दिन मानिन्छ। आस्विन शुक्ल प्रतिपदादेखि सुरु यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।

वडा दशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ।

यसलाई जमरा राख्ने पनि भनिन्छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ। देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ।

आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। पहिलो दिन घटस्थापनाको शुभ साइत बिहान १०:२३ बजे रहेको छ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी बिसर्जन गरिन्छ।

दुर्गा देवीका ३ वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ। आजैका दिनदेखि विधिपूर्वक घर–घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ।

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको छ। विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गर्दै आएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११:११ बजे, केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।