थाक खेलकुद: पुरुषतर्फ कोवाङ, महिलातर्फ टुकुचे च्याम्पियन

जनसम्मत
असाेज ८, २०७९, शनिबार

मुस्ताङकै पुरानो खेलकुद प्रतियोगिता थाक च्याम्पियनसीपको पुरुष भलिबलतर्फ धौलागिरी युवा क्लब कोवाङ र महिला भलिबलतर्फ नीलगिरी युवा क्लब टुकुचे च्याम्पियन बनेका छन् ।

शनिवार सम्पन्न फाइनलबाट कोवाङ र टुकुचे पुरुष तथा महिला भलिबल च्याम्पियन बनेका हुन्।

धौलागिरी युवा क्लब कोवाङले (३–०)को सोझो सेटमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई पराजित गरेको हो। यस्तै, महिलातर्फ अन्नपूर्ण युवा क्लब ताक्लुङलाई हराउँदै नीलगिरीले उपाधि जित्यो। बुधबारदेखि जारी थाक च्याम्पियनसीप भलिबल प्रतियोगिताको सेमीफाइनलमा मिलिजुली युवा क्लब मार्फालाई हराउँदै धौलागिरी फाइनलमा पुगेको थियो। महिलातर्फ निर्मल स्पोर्टिङ क्लब लेतेलाई हराउँदै नीलगिरी फाइनल गएको हो।

५० औं थाक च्याम्पियनसीपका विजेता धौलागिरी युवा क्लब कोवाङ र नीलगिरी युवा क्लव टुकुचेले नगदसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन्। विजेताहरुलाई थाक खेलकुद तथा सांस्कृतिक विकास संघ अध्यक्ष चन्द्रमोहन गौचन, थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन र घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले पुरस्कार वितरण गरे।

तारो हान्ने खेलमा निर्मल स्पोर्टिङ क्लब (लेते)च्याम्पियन बनेको छ। प्रतियोगितामा ७ डोरमा ६१ अंक बटुल्दै निर्मल स्पोर्टिङले उपाधि जितेको हो । यस्तै, नीलगिरी क्लब (टुकुचे) ७ डोरमा ५८ अंक जोड्दै उपविजेता बन्यो । आर्चरीमा निर्मल स्पोर्टिङका साजन शेरचन उत्कृष्ट खेलाडी घोषित भए।