साबा महिला च्याम्पियनसीप: नेपाली महिला बास्केटबल टिमको खराब सुरुवात

जनसम्मत
असाेज ९, २०७९, आइतबार

नेपाली महिला बास्केटबल टोली आइतबार राति साबा महिला च्याम्पियनसीपमा आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको छ ।

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा नेपाल सुरुको २ क्वार्टरमापछि परेको थियो। तेस्रो क्वार्टरमा पुगेर २ अंकको अग्रता लिन सफल भएको थियो। चौथो क्वार्टरमा पनि नेपाल अन्तिम अवस्थामा पछि परेपछि पराजित बनेको थियो।

पहिलो क्वार्टरमा १६–१४ ले पछि परेको नेपाल दोस्रो क्वार्टर सकिँदा २५–२४ को अवस्थामा थियो। तेस्रो क्वार्टरमा नेपाल ३६–३४ ले अग्रता लिन सफल भएको थियो। तर, निर्णायक क्वार्टरको अन्तिम अवस्थासम्म अग्रता लिन सफल नेपाल खेल सकिँदा भने ४७–५१ ले पराजित बन्यो।

साबा महिला च्याम्पियनसीपको यो दोस्रो संस्करण हो। यसअघि २०१६ मा नेपालमै सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो। नेपाल पहिलो संस्करणको उपविजेता टिम हो। त्यतिबेला, नेपाल फाइनलमा श्रीलंकासँग पराजित भएको थियो।

पहिलो संस्करणमा श्रीलंका, नेपाल, माल्दिभ्स, भुटान र बंगलादेशले प्रतिस्पर्धा गरेका छन्। यसपटक बंगलादेशले सहभागिता जनाएको छैन। दक्षिण एसियाका ४ राष्ट्रले प्रतिस्पर्धा गरेको प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइएको छ।

नेपालले अब दोस्रो खेल असोज ११ गते श्रीलंकाविरुद्ध खेल्नेछ भने अन्तिम खेलमा भुटानसँग असोज १२ गते प्रतिस्पर्धा गर्नेछ।