संघीय संसदमा प्रस्तुत मिडियासम्बन्धी विधेयकप्रति काँग्रेसको आपत्ति

संसद र सडकको आन्दोलनबाटै विधेयकलाई फिर्ता गराउने पार्टी सभापति देउवाको दावी

जनसम्मत सहकर्मी
वैशाख २९, २०७६, आइतबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ ।

काँग्रेसले उक्त विधेयकलाई फिर्ता लिन सरकारलाई बाध्य बनाउने चेतावनीसमेत दिएको छ ।

नेपाली काँग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘मिडियासम्बन्धी सरकारले ल्याएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी छ । विधेयकलाई संसद र सडक दुवैतर्फको आन्दोलनबाट फिर्ता गराउँछौं ।’

देउवाले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलित पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । सभापति देउवाले भनेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएकोले त्यसलाई हनन गर्ने कुनैपनि गतिविधि आफ्नो पार्टीलाई सह्य हुँदैन ।’

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका संविधान र कानुन विपरीतका सबै गतिविधिविरुद्ध आफ्नो पार्टीले जनतालाई सचेत गराउने पनि बताए ।