कास्कीकोटको दरबारमा राखियो जमरा

लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रदर्शन गरिने

जनसम्मत
असाेज १०, २०७९, सोमबार

नेपालको ऐतिहासिक दरबार कास्कीकोटमा जमरा राखिएको छ।

त्यहाँ रहेको गुप्तकालीका मन्दिरमा विशेष साइत पारेर घटस्थापना गरिएको हो।

यहाँ अहिले पनि नव दुर्गा महोत्सव हुने भएको छ। वर्षेनी कास्कीकोटमा तान्त्रिक र वैदिक हिसाबले पूजा गरिन्छ। विजया दशमीसम्म पाणा पुजारीहरू मन्दिरभित्र बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ।

नेपालबाटै लोप हुने अवस्थामा रहेको सरुङ खेल र मालश्री धुन प्रदर्शनी गरिने गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिएका छन्। दसैंमा बजाइने नगरा, सत्रौं शताब्दीका ढाल तरबारहरू प्रदर्शन गरिने छ।

कास्की दरबारमा घटस्थापनाको दिन विधिपूर्वक मन्दिर प्रवेश गरिन्छ। सप्तमीको दिन पोखराको राम घाटवाट ल्याइएको फूलपत्र र कुँवर जातीको सरुङ खेलसँगै मन्दिरमा भित्राउने चलन छ। अष्टमीका दिन राती कालरात्रीको पूजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालिका मन्दिरमा टिका लगाएपछि विधिवत रूपमा फूल विसर्जन गरिन्छ।

यहाँ पूजा गर्न तथा पञ्चवली भाकल गर्नेहरूको भिड सुरु भैसकेको छ। कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैंमा विशेष पूजा हुँदै आएको छ। कास्कीकोटबाट नै नेपाल राज्यमा शाहवंशको उदय भएको थियो।