दसैँ अगाडि नै श्रमजीवीहरुलाई बाँकी बक्यौतासहितका सुविधा देउ: पत्रकार महासंघ

जनसम्मत
असाेज ९, २०७९, आइतबार

नेपाल पत्रकार महासंघले दसैँअगावै श्रमजीवी संचारकर्मीले पाउनुपर्ने बाँकी बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन सम्बन्धित संचारगृहसँग आग्रह गरेको छ।

विभिन्न संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारलाई विभिन्न संचारगृहले निष्कासन गर्ने, दबावपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य हाल पनि जारी रहेको भन्दै महासंघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गरी महासंघले पटक–पटक सम्बन्धित संचार गृहसँग पत्राचार, संवाद तथा दबावका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै केही संचारगृह यस्ता समस्या समाधानमा अझै गंभीर र जिम्मेवार नबन्दा ती संचारगृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएको उल्लेख गरेको छ।

‘नेपालीहरूको महान पर्व दसैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू तलवविहीन बन्नु पर्दाको पीडादायी अवस्था विद्यमान छ। एकातिर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन भने अर्कोतिर संचारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबावमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ दसैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ।’

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका संचारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निणर्य गरेको विज्ञप्तिमा जनाइएको छ।

महासंघले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका संचारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन आग्रह गरेको छ।

विभिन्न संचारगृहका पीडित पत्रकारहरूले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रति महासंघ जोडदार समर्थन र ऐक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ।

साथै, पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि संचारगृहबाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै समयमै ती समस्याहरुको सुनुवाई नभए महासंघको निर्णय र समन्वयमा असोज १२ गतेदेखि संघर्षका थप कार्यक्रमहरू अघि बढाइने चेतावनी दिइएको छ।

हेर्नुहोस, महासंघको प्रेस विज्ञप्ति