राष्ट्रिय खेलकुदको ट्रफी बुद्धको जन्मभूमि लुम्बिनीमा

जनसम्मत
असाेज ३, २०७९, सोमबार

राष्ट्रिय खेलकुदको ट्रफी बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको छ।

राष्ट्रिय खेलकुदमा सहभागी ७ प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्देश्यका साथ आश्विन १ गतेदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा आज (सोमबार) लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो।

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खानको अध्यक्षतामा भएको प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कुलबहादुर के.सी., विशिष्ट अतिथि बन तथा वाताबरण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, सदस्य सचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र प्रदेशसभा सदस्य भुवनेश्वर थारुको उपस्थिती थियो।

ओलम्पियन संघका अध्यक्ष ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदको लगातार ४ संस्करणमा नेपालका लागि ४ स्वर्ण पदकधारी दीपक विष्टको नेतृत्वमा दक्षिण एशियाली खेलकुदमा करातेतर्फ स्वर्णधारी एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही, नेपाली पुरुष क्रिकेटका कप्तान पारस खड्का र अल्ट्रा धावक मीरा राई लगायतको ट्रफी टुर कार्यदलले ट्रफीलाई ७ वटै प्रदेशको राजधानी लगायत मुख्य सहर, विभागीय टोली र एनआरएनएको मुख्य कार्यालयमा भ्रमण गराउने र प्रदर्शन गर्ने कार्यक्रम छ।