सेनाका मोहनदेव र श्यामकलीले जिते पोखरा महानगर १० किमि दौडको उपाधि

जनसम्मत
असाेज १०, २०७९, सोमबार

नेपाली सेनाका मोहनदेव जोशी र सेनाकै श्यामकली जैशीले पोखरामा भएको १० किमि दौडको उपाधि जितेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र वडा दशैंको अवसरमा पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ मोहनदेवले ३५ मिनेट ३१.४ सेकेण्ड र महिलातर्फ श्यामकलीले ४६ मिनेट ५८.२ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। उनीहरुले उपाधिसँगै २५/२५ हजार नगद हात पारे।

त्यस्तै, पुरुषतर्फ गोरखाका निराजन भट्टराईले ३६ मिनेट ०४.२ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। गोरखाकै नवराज गुरुङ ३६ मिनेट ५०.४ सेकेण्डमा दौड पूरा गरी तेस्रो भए। उक्त दौडमा गोरखाका श्याम मगराती चौथो स्थानमा र पोखराका सरोज शर्मा पाँचौ स्थानमा रहन सफल भए।

त्यसैगरी, महिलातर्फको १० किलोमिटर दौडमा तनहुँकी नम्रता गुरुङले ४८ मिनेट ०७.५ सेकेण्डमा पूरा गर्दै दोस्रो र नवलपुरकी डोलमाया महतोले ४९ मिनेट २१.१ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो बने। पर्वतकी संगिता वि.क. चौथो, स्याङजाकी चन्द्रकला बराल पाँचौ हुन सफल भए।
१० किलोमिटरतर्फ पुरुष तथा महिला दोेश्रोदेखि पाँचौ स्थान सम्मका दौड विजेताहरुले क्रमश: नगद १५, १०, ५ र ३ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र हात पारे।

त्यस्तै, पोखरा महानगरअन्तर्गतको विद्यालयस्तरीय छात्र ५ किलोमिटरतर्फ १६ मिनेट ४० सेकेण्डमा दौड पूरा गरी केफ एकेडेमीका विवेक परियार प्रथम भए। सैनिक आवासीय विद्यालयका प्रवेश आचार्य १७ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै दोस्रो, १८ मिनेट १६ सेकेण्डमा पुरा गर्दै सुमित सिग्देल तेस्रो हुन सफल भएका छन्।

यता, छात्रातर्फ ५ किलोमिटर दौडमा छोरेपाटन माविकी नारायण भण्डारीले २५ मिनेट १ सेकेण्डमा पूरा गर्दै प्रथम भइन् भने २५ मिनेट ५३.४० सेकेण्डमा दौड पूरा गरी एलपी देवकोटा स्कुलकी मेनुका अधिकारी दोस्रो, २७ मिनेट १६.६३ सेकेण्डमा पूरा गर्दै इन्द्रराज्यलक्ष्मी माविकी आइतीमाया गुरुङ तेस्रो हुन सफल भए। यसैगरी, ज्ञानज्योति विद्याकुन्जकी पल्लवी नेपाली चौथो, सैनिककी जस्तिना गुरुङ पाँचौ बन्न सफल भए।

विजेता छात्रछात्रा धावकहरुले १५, १०, ५, ३ र २ हजार नगदका साथमा मेडल र प्रमाणपत्र हात पारे। छैटौंदेखि १० औं स्थानसम्म आउने धावकहरुलाई जनही नगद १/१ हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो।

पोखरा महानगरपालिका प्रमुख धनराज अचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगर शिक्षा तथा खेलकुद महाशाखा प्रमुख हेमराज आचार्य, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्कालगायतले विजेता धावकहरुलाइ नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरे।