नवौँ राष्ट्रिय खेलकुद : कराँते प्रतिस्पर्धा पर्वतमा

जनसम्मत
असाेज ९, २०७९, आइतबार

गण्डकी प्रदेशमा आयोजना हुन लागेको आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा हुने भएको छ।

जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर कराँतेको प्रतिस्पर्धाबारे जानकारी गराएको हो।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३ विभागीय टोली तथा एनआरएनको १ गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने भएका छन्।

एउटा टोलीमा ३२ जना खेलाडीका दरले कूल ३ सय ५२, एक टोलीमा २ प्रशिक्षक र २ व्यवस्थापक गरेर ४ जनाका दरले कूल ४४, देश तथा देश बाहिरबाट आउने निर्णायकहरू ७५, व्यवस्थापनका लागि स्थानीयबाट लिइने २५ सहित प्राविधिक र अन्य जनशक्तिसहित करिब ६ सयजनाको सहभागिता रहनेछ।

यही असोज २८ देखि कात्तिक २ गतेसम्म गरी पाँच दिनमा खेलहरू सम्पन्न गर्ने तयारी गरिएको नेपाल कराँते महासंघ नेपालका अध्यक्ष दावा गुरुङले बताए। प्रतिखेलाडीले प्रतिदिन २ हजार रुपैयाँका दरले भत्ता पाउने र आउँदा–जाँदा भएको खर्च पनि दिनेगरी व्यवस्थापन गरिएको उनको भनाई छ।

पर्वत जिल्लाका कराँते संयोजक राम श्रेष्ठकाअनुसार खेलको तयारीस्वरूप अहिले कुश्माको बडागाउँस्थित सेमी कभर्ड हलमा कराँतेको प्रतिस्पर्धा हुनेछ। अहिले खेल हुने स्थान आसपासको व्यवस्थापन गर्ने, सरसफाइ गर्नेलगायतका कामहरू भइरहेको उनले बताए।