नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की कमिटी सदस्यहरुको सपथ ग्रहण

समाजवादसम्म पुग्ने पार्टीको अन्तिम लक्ष : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

जनसम्मत
वैशाख ३०, २०७६, सोमबार

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीको सदस्यहरुले आइतबार सफथ लिएका छन् ।

कास्की कमिटीका १५५ जिल्ला सदस्यले सपथ लिएका हुन् । सपथ लिनेहरुमा साविक नेकपा एमालेका ८८ र माओवादी केन्द्रका ६७ जना छन् ।

पार्टीको गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्यहरुले उनीहरुलाई सपथ गराएका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले बोल्दै नेकपाको अन्तिम लक्ष्य समाजवादसम्म पुग्ने भएको उल्लेख गरे । लक्ष समाजवादसम्म पुग्ने भएपनि अहिल्यै हतारो गर्न नहुने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

‘समाजवादसम्म पुग्न बीचमा धेरै तयारी गर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘राजतन्त्रको अन्त्यपछि सामन्तबादको अवशेषलाई नीति, नियम तथा ऐन कानूनको माध्यमबाट अन्त्य गरिरहेका छौँ । अन्तिम लक्ष्य समाजवाद भएपनि हाम्रो हतारोले मात्र क्रान्ति पूरा हुँदैन । क्रान्तिको आफ्नै नियम हुन्छ ।’

विगतमा कम्युनिष्ट आन्दोलन आफैभित्रको गलत प्रवृत्ति र अभ्यासको कारणबाट कमजोर भएको स्विकार गर्दै उनले भने, ‘अवसरबाद, उग्रबामपन्थ र दक्षिणपन्थकाविरुद्ध निर्मम भएर लाग्नुपर्ने समय आएको छ । दुई पार्टी एकतापछि लामो समय पार्टी अन्यौलमा थियो । अहिले विस्तारै पार्टीले गति लिन थालेको छ । पार्टी सदस्यहरुले सपथको मर्मअनुसार माक्र्सबादी विचारको अनुसरण गर्दै जनताको लागि काम गर्नुहोला ।’

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्कर्माले दुई ठूला पार्टीको एकतापछि कम्युनिष्ट पार्टी स्थापनाको लक्ष्य पूरा गर्ने ऐतीहासिक अवसर प्राप्त भएको बताए । समृद्धिको अभियानलाई निर्णायक विन्दुमा पु¥याउने गरी नेता कार्यकर्ता परिचालित हुुनुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिए ।

स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ले भने, ‘जनताको बीचबाट कम्युनिष्ट पार्टीको जन्म भएको हो । जनतासँगको सम्वन्धलाई सुमधुर राख्न जनताकै बीचमा गएर पार्टी र सरकारले गरेका कामहरु बुझाउनुपर्छ ।’

गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले भने, ‘कास्की पार्टीको गतिविधि र सक्रियताले समग्र प्रदेश र केन्द्रमा समेत सन्देश दिने भएकाले अनुशासित र एकताबद्ध भएर पार्टी कामलाई सञ्चालन गर्नुहोला ।’

कार्यक्रममा प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, कास्की अध्यक्ष कृष्ण थापा तथा सचिव बखानसिंह गुरुङले पार्टी र सरकारबीच सहकार्य र समन्वयसाथ अघि बढ्नुपर्ने धारणा राखे ।

कमिटीको पहिलो बैठकमा केही महत्वपूर्ण निर्णयहरु

सदस्यहरुको सपथपछि कमिटीको पहिलो बैठक बसेको छ । पहिलो बैठकले गण्डकी प्रदेशको राजधानी पोखरालाई राष्ट्रकै नमुना राजधानी बनाउने कार्यमा योजना बनाउन र एकमतका साथ प्रदेश सरकार र स्थानीय तहलाई सहयोग गर्न जिल्ला कमिटी लाग्ने निर्णय गरेको छ ।

जनयुद्ध र विभिन्न जनआन्दोलन तथा पार्टी निर्माणका दौरानमा साहदत प्राप्त वा जीवन बलिदान गर्नेहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नेपाल सरकारसंग माग गर्ने निर्णय गरेको छ । केही दिन अगाडिको हावाहुरी र प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई आवश्यक सहयोगको लागि बैठकले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

पार्टी कमिटीहरुको एकता एकीकरणका लागि गठन गरिएको जिल्ला संयन्त्रलाई आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । जेठ ३ गते मदन (आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर नगर गाउँ र वडास्तरमा मनाउने र जिल्लाले विहान पोखरा १६ मदन (आश्रीत स्मृति पार्कमा माल्यार्पण तथा दिउँसो साँढे १२ वजे पोखरामा विचार गोष्ठी गर्ने निर्णय गरेको छ ।

 

तस्वीरहरु : दामोदर बैरागीको फेसबुकबाट