नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल भोली

जनसम्मत
असाेज १०, २०७९, सोमबार

नेपाल र बंगलादेशबीच भोली (मंगलबार) मैत्रीपूर्ण फुटबल हुँदैछ।

खेल बेलुका साढे ५ बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ।

नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन्। खेलअघि आज (सोमबार) भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएका छन्। यसअघि, कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए। तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन्।

किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन्। एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ। सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ। नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ। नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ। नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो।