कर्णाली पुग्यो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी

जनसम्मत
असाेज ११, २०७९, मंगलवार

गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफी कर्णाली पुगेको छ।

प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरमा ट्रफी अनावरण गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ७ प्रदेश र ३ विभागीय टिममा ट्रफ्रीलाई टुरको रुपमा लिने निर्णय गरेको थियो।

राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागी थिए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन्।