दसैं नवरात्रको चौथो दिन, आज कुश्माण्डा देवीको पूजा गरिदै

जनसम्मत
असाेज १३, २०७९, बिहीवार

आज आस्विन शुक्ल चतुर्थी अर्थात दसैं नवरात्रको चौथो दिन।

नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा ९ दुर्गामध्येकी चौथो कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी ३ तापलाई कुश्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको ३ वटै ताप हरिदिने भएकाले यो नामकरण गरिएको हो। कुश्माण्डा सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।

नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

दोस्रो दिन मंगलबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो।

चौँथो दिन आज (बिहीबार) कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने प्रचलन छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्। ९ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँदै आएका छन्।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुश्माण्डा हुँदै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने परम्परा छ। यीनै ९ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका ९ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ।

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११:११ बजे, केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।