नवौं राष्ट्रिय खेलकुद : प्रचार–प्रसारमा पोखरा महानगर अग्रसर बन्दै

जनसम्मत
असाेज १२, २०७९, बुधबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन पोखरा महानगरपालिकाले सघाउने भएको छ।

खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमा आयोजना गरेका अन्तरक्रिया तथा छलफल कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यस्तो बताएका हुन्। उनले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार–प्रसारका विषयमा सरोकारवालासँग बसेर दसैंलगत्तै यसलाई शुरु गर्ने बताए।

उनले भने, ‘पोखरा खेलकुदमय बनेको छ भन्ने महसुस गराउन हामीले विज्ञापनका लागि विद्युतीय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेटलगायतबाट प्रचार–प्रसारका लागि सरोकारवालाहरुसँग छलफल गरेर दसैंलगत्तै काम शुरु गर्नेछौं।’

यस्तै, प्रतियोगिताका लागि महानगरपालिकाले यातायात, होटल, सपिङ मल, खानेपानी, शौचालयलगायतको व्यवस्थापनका लागि सरोकारवालाहरुसँग बैठक बसेर छुट तथा सहुलियतका विषयमा आह्वान गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताको हालसम्मको तयारीका विषयमा जानकारी गराएका थिए।

उनले प्रतियोगितालाई मध्यनजर गरी खेलस्थलहरुसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति, पोखरा महानगरपालिकाका विभिन्न नाकाहरुमा स्वागत तथा शहरका विभिन्न यात्रु प्रतिक्षालयलगायत अन्य स्थानहरुमा खेलकुदसँग सम्बन्धित सामाग्रीहरु डिस्प्ले बोर्ड राख्ने, प्रतियोगिता स्थलहरुमा डस्टवीनहरुको व्यवस्था गरी दैनिक रुपमा सरसफाई, मिडिया सेन्टरमा विद्युत तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्ने लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरे।
कार्यक्रममा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गण्डकी खेलकुद परिषदका पदाधिकारी, महानगरका कर्मचारी, पत्रकारलगायतको उपस्थिति थियो।

३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता कास्कीसहित स्याङ्जा, तनहुँ, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ।

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो:खो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन्।

त्यस्तै, हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन्। प्रतियोगिता यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ।