पोखरा महानगरले थाल्यो भेडा, च्यांग्राको अनुगमन

जनसम्मत
असाेज १३, २०७९, बिहीवार

पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज (बिहीबार) भेडा च्यांग्राको अनुगमन गरेको छ ।

पोखराको याम्दीमा बेच्नका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्यांग्रा खानका लागि स्वस्थ र योग्य भए/नभएको परीक्षण गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिएका छन्।

अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्यांग्रा बिक्री नगर्न ब्यवसायीलाई जानकारी गराइएको महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताए। उनले १५ वटा भेडा, च्यांग्राको स्याम्पल लिइएको र त्यसबाट स्वस्थ पाइएको र खान योग्य रहेको पाइएको उल्लेख गरे।

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले भेडा च्यांग्राको मूल्य वैज्ञानिक तरिकाले निर्धारण गर्नसके उपभोक्तालाई महंगो नपर्ने सुझाव दिए। उनले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिए।  उनले च्यांग्रा खरिद–बिक्रिको मूल्य निर्धारण बैज्ञानिक नभएको बताउँदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन आग्रह गरे।

पोखरा महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजक एंव पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियो।

पोखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएको हो। अनुगमनका मुल्यसूची नराखेको, ब्यवसाय दर्ता नभएको, दर्ता भएका पसलको नविकरण नगरेको र किलाकाटा दर्ता नभएका तथा सरसफाईमा ध्यान नदिएको पाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनाए। एक सातामा २० ब्यवसायीलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको उनले बताए।

पोखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालयमार्फत जरिवाना गरिएको हो। अनुगमनमा पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकारलगायतको सहभागिता थियो।