आज दसैं नवरात्रको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै

जनसम्मत
असाेज १४, २०७९, शुक्रबार

आज आस्विन शुक्ल पञ्चमी अर्थात दसैं नवरात्रको पाँचौ दिन।

नवरात्रको पाँचौ दिन आज (शुक्रबार) भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ।

स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। स्कन्दमाताको यो रुपलाई मातृरुप मानिन्छ।

स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।

नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

दोस्रो दिन मंगलबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो।

चौँथो दिन आज (बिहीबार) कुश्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवीस्तोत्र पाठसमेत गर्ने प्रचलन छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्। ९ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँदै आएका छन्।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुश्माण्डा हुँदै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने परम्परा छ। यीनै ९ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका ९ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ।

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११:११ बजे, केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।