पोखरा–४ को मुख्य बजारमा अनुगमन, सुरुमा सचेत, अटेर गरे कार्वाही

जनसम्मत
असाेज १४, २०७९, शुक्रबार

पोखरा महानगरपालिका वडा–४ ले बजार अनुगमनलाई तीव्रता दिएको छ।

वडा कार्यालयले वडाभित्रको गणेशटोल, रामकृष्ण टोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, गै¥हापाटन क्षेत्रमा बजार अनुगमन गरेको हो।

वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा गरिएको औषधि पसल, फ्रेस हाउस, खाद्यान्न पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको हो। चाडपर्वको अवसरमा कोही पनि नागरिक नठगिउन्, गुणस्तरीय सामग्री पाउनबाट बञ्चित नहुन् भन्ने लक्ष्यसहित बजार अनुगमन गरिएको उनले बताए।

वडाध्यक्ष पराजुलीका अनुसार केही पसलबाट अखाद्य सामान बरामद गरेर व्यापारीलाई सचेत मात्रै गराएर छाडिएको छ। केही समयपछि पुनः अनुगमन गरिने र त्यसक्रममा पनि व्यापारीले अटेर गरेको पाइए कडा कारवाही गर्ने वडाध्यक्ष पराजुलीले चेतावनी दिएका छन्।

अनुगमनकै क्रममा केही पसल दर्ता नभएको र केही पसल नवीकरण नभएको पाइएको भन्दै त्यस्ता पसल सञ्चालकलाई चिठी काटेर वडामा आउन निर्देशन दिइएको उनले बताए ।

वडाध्यक्ष पराजुलीको संयोजकत्वमा वडा सदस्यहरु विष्णुमाया परियार, वडासचिव सुरेन्द्रप्रसाद शर्मा, पूर्वसदस्य सुवर्ण केसी, प्रविण पालिखे, शहरी स्वास्थ्य केन्द्रका प्रमुख सुजन पौडेलसहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले बजार अनुगमन गरेको हो।