दसैं नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा गरिँदै

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको छ

जनसम्मत
असाेज १५, २०७९, शनिबार

आज आस्विन शुक्ल षष्ठी अर्थात दसैं नवरात्रको छैटौं दिन। आजको दिन ९ दुर्गामध्येकी एक कात्यायनी देवीको पूजा–आराधना गरिदैंछ।

नवरात्रको छैटौँ दिन आज (शनिबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

नवरात्रको पहिलो दिन दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो।

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा–आराधना गरिएको थियो। तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठासाथ पूजा–आराधना गरियो। चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिएको थियो। पाँचौँ दिन स्कन्दमाताको पूजा–आराधना गरियो। छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ।

नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने प्रचलन छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन्। ९ दिनसम्म पूजा–आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीहरुले बडादशैँ पर्व मनाउने गर्दछन्।

कुनै समय देवताको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन्। उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन्। यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पुराणमा उल्लेख छ। कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूल्ठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेर उल्लेख गरेको पाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुश्माण्डा हुँदै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने परम्परा छ। यीनै ९ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका ९ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ।

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११:११ बजे, केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।