दसैं नवरात्रको सातौं दिन, आज कालरात्रीको पूजा गरिदैं

जनसम्मत
असाेज १६, २०७९, आइतबार

आज आस्विन शुक्ल सप्तमी तिथि, अर्थात दसैं नवरात्रको सातौं दिन।

नवरात्रको सातौँ दिन आज (आइतबार) दसैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ।

नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्राइँदैछ। फूलपाती अपराह्न भित्राउने वैदिक विधि छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

नवरात्रको पहिलो दिन असोज १० गते (सोमबार) दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो।
त्यसै दिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो।

दोस्रो दिन मंगलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथो दिन बिहीबार कुश्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिएको थियो। पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा–आराधना गरियो। छैटौँ दिन शनिबार कात्यायनी देवीको विधिपूर्वक पूजा–आराधना गरिएको थियो। सातौँ दिन आज (आइतबार) कालरात्री देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ।

नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा–आराधना गर्ने गर्छन्। ९ दिनसम्म पूजा–आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।

यसरी, १५ दिनसम्म नेपालीले बडा दसैं पर्व मनाउँछन्। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो, काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरूपलाई कालरात्री भनिन्छ। कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।

यिनै ९ वटा दुर्गाका रूपलाई नवदुर्गा भन्ने गरिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा–आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका ९ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ।

यस वर्षको दसैं टीकाको उत्तम साइत असोज १९ गते ११:५१ बजेलाई मानिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११:११ बजे, केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।