निर्वाचन आयोगमा प्रेस अफिस संचालनमा

जनसम्मत
असाेज १४, २०७९, शुक्रबार

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ।

आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेको हो।

आज (शुक्रबार) निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरे। उनले प्रेस अफिसको उद्घाटन गर्दै अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने बताए।

त्यस्तै, निर्वाचनसँग सम्बन्धित कुराहरुको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले उल्लेख गरे। उनले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता विपरितका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने बताए।

आयोगले हरेक दिनको गतिविधि समेटेर साँझ ६ बजेभित्र ईबुलेटिन प्रकाशन गर्ने पनि उनले जानकारी दिए। प्रमुख आयुक्त थपलियाले आयोगमा प्रवक्तासँगै थप ३ जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरुसँग पनि सूचना लिन सकिने बताए। प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारीहरु रहने उनले उल्लेख गरे। उनले ३ जना विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि नियुक्त गरिएको जानकारी दिए।

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमहरुको अनुगमन नगर्ने स्पष्ट पारे। आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उनको भनाइ छ। उनले कस्ता विषयवस्तुहरु गइराखेका छन् र सो विषयवस्तुहरुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिक रुपमा विश्लेषण गर्ने उनले स्पष्ट पारे।

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्वपूर्ण भुमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरुलाई निर्वाचनमा प्रयोग गर्न आग्रह गरे।